• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

बागमतीमा नेकपाभित्र शक्ति संघर्ष चर्किँदा मुख्यमन्त्री थापालाई विश्वासको मतको संकट

बागमतीमा नेकपाभित्र शक्ति संघर्ष चर्किँदा मुख्यमन्त्री थापालाई विश्वासको मतको संकट

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोट, सभामुख पद र शक्ति बाँडफाँटलाई लिएर विवाद चर्किएको छ। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपाका केही सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि सत्ता गठबन्धनभित्रको असन्तुष्टि सतहमा आएको हो।

नेकपा संसदीय दलका उपनेता कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठलगायतका सांसदहरू दलभित्र पर्याप्त छलफल नगरी एकलौटी निर्णय गरिएको र शक्ति बाँडफाँट न्यायोचित नभएको भन्दै असन्तुष्ट छन्। नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पनि सांसदहरूका आफ्नै गुनासा रहेको स्वीकार गरेका छन्। यही आन्तरिक विवादका कारण सोमबार दिउँसोदेखि बेलुकासम्मका लागि बोलाइएको प्रदेशसभा बैठक बस्न सकेन।

बागमती प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पद नेकपाको भागमा परेपछि त्यसका लागि पनि पार्टीभित्र प्रतिस्पर्धा बढेको छ। कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठ सभामुखका प्रमुख दाबेदारका रूपमा देखिएका छन्। यसअघि रत्नप्रसाद ढकालको नाम चर्चामा आए पनि पार्टीभित्र पर्याप्त छलफल नगरी जिम्मेवारी बाँडफाँट गरिएको भन्दै केही सांसद असन्तुष्ट बनेका छन्।

त्यसैगरी, सरकारमा नेकपाले पाएको दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरल सहयात्री पौडेललाई जिम्मेवारी दिइसकिएको छ भने अर्को मन्त्री छनोट हुन बाँकी छ। पूर्वमाओवादी पृष्ठभूमिका पौडेल मन्त्री बनिसकेकाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिबाट एक जनालाई मन्त्री बनाउनुपर्ने दबाब जम्कट्टेलमाथि छ। उनले रमा आले मगरलाई मन्त्री बनाउन अघि सारेको बताइएको छ।

नेकपाभित्र पूर्वमाओवादी पृष्ठभूमिका प्रेमबहादुर पुलामी पनि लामो समयदेखि मन्त्री बन्न नपाएको भन्दै असन्तुष्ट छन्। संविधानसभा सदस्यसमेत रहेका पुलामी दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भए पनि प्रदेशसभाको करिब नौ वर्षे अवधिमा आफू मन्त्री बन्नबाट वञ्चित भएको गुनासो गरेका छन्। यद्यपि, पार्टीको निर्णय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।

यसैबीच, सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद पनि बढ्दै गएको छ। राप्रपाका भुवनकुमार पाठकले जेनजी आन्दोलनका बेला राजीनामा दिएपछि प्रदेशसभा करिब एक वर्षदेखि सभामुखविहीन छ। सत्ता गठबन्धनभित्रकै सांसदहरूको असन्तुष्टि र राप्रपाभित्रको विभाजनका कारण मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन चुनौती थपिएको हो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। नेकपाभित्रको असन्तुष्टि र गठबन्धनमा देखिएको अन्योल कायमै रहे मंगलबारका लागि बोलाइएको प्रदेशसभा बैठक र मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया थप पेचिलो बन्ने देखिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार