काठमाडौँ । नेपाल–चीन सीमावर्ती उच्च हिमाली क्षेत्रमा अगस्ट २०२६ मा गएको विनाशकारी बाढी छोटो समयको भारी वर्षाका कारण मात्र नभई वर्षौँदेखि बढ्दै गएको हिमनदीको अस्थिरता, तापक्रम वृद्धि, बरफ पग्लिने क्रम र बाटोमा थपिँदै गएको ठूलो परिमाणको भग्नावशेषका कारण अत्यन्त शक्तिशाली बनेको चिनियाँ अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ। चिनियाँ विज्ञान प्रतिष्ठान (क्यास) अन्तर्गतको इन्स्टिच्युट अफ तिब्बती प्लेटो रिसर्चको नेतृत्वमा गरिएको अध्ययनअनुसार २६ अगस्टको बिहान नेपालको लाङ्टाङ लिरुङको उत्तरी भिरालो उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानसहितको ठूलो हिमपहिरो गएको थियो। ती भग्नावशेष तीव्र गतिमा गहिरो खोल्सातर्फ बग्दै करिब २२ किलोमिटर लामो उपत्यका पार गर्ने क्रममा नदीको पिँध काटेर तथा आसपासका भिरालो भूभागबाट थप माटो, ढुंगा र अन्य सामग्री समेट्दै पानीसँग मिसिएका थिए। यही प्रक्रियाले सुरुवाती बरफ–चट्टानको हिमपहिरोलाई अत्यन्त शक्तिशाली लेदो तथा मलबे प्रवाहमा परिणत गरी चीनको सिजाङ (तिब्बत) क्षेत्रस्थित केरुङ बन्दरगाह र तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको अनुसन्धानले देखाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार विपद्अघि मुहान क्षेत्रमा महिनौँसम्म वर्षा सामान्यभन्दा कम थियो र घटना हुनुअघि उल्लेख्य भारी वर्षा पनि भएको थिएन। बरु, लामो समयदेखि हिमनदीको तुलनात्मक रूपमा तीव्र बहाव, अन्तिम भागतर्फ बरफको निरन्तर प्रवाह तथा वसन्त र गर्मीयाममा सामान्यभन्दा बढी तापक्रमका कारण उच्च उचाइमा बरफ पग्लिने पानी बढेको र पर्माफ्रोस्ट पग्लिने क्रम तीव्र भएको देखिएको छ। यी प्रक्रियाले बरफ र चट्टानबीचको सतह कमजोर बनाउँदै लामो समयपछि हिमनदीलाई अचानक अस्थिर बनाएको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। यद्यपि, उपलब्ध प्रमाणले विपद्को तत्कालीन र एकमात्र कारण भने अहिलेसम्म निश्चित रूपमा पहिचान गर्न नसकेको उनीहरूले बताएका छन्।अध्ययनले अर्को महत्वपूर्ण तथ्य पनि उजागर गरेको छ—विपद्को विनाशकारी शक्ति सुरुमा खसेको पहिरोको मात्रामा मात्र निर्भर थिएन। भग्नावशेष तलतर्फ बग्ने क्रममा बाटोमा थप सामग्री मिसिँदै जाँदा यसको आयतन र विनाशकारी क्षमता उल्लेख्य रूपमा बढेको थियो। यसले उच्च हिमाली क्षेत्रमा विपद्को जोखिम मूल्याङ्कन गर्दा मुहानमा रहेको सामग्रीको मात्रा मात्र नभई बग्ने बाटोमा थपिन सक्ने सामग्री, नदी तथा उपत्यकाको भूगोल र तल्लो क्षेत्रमा रहेका बस्ती तथा भौतिक संरचनालाई समेत समेट्नुपर्ने देखाएको छ।
अनुसन्धान टोलीले मुख्य पहिरोभन्दा केही घण्टाअघि मुहान क्षेत्रमा भूकम्प मापन केन्द्रका रेकर्डमा असामान्य संकेतहरू पनि भेटेको जनाएको छ। तीमध्ये केही संकेत घटनास्थलमा देखिएका साना बरफ तथा हिउँका चालसँग समय मिलेको देखिएको छ। यी संकेतहरूलाई थप भूकम्पीय तथ्याङ्क, इन्फ्रासाउन्ड अवलोकन र भिडियो फुटेजमार्फत अध्ययन गरिँदैछ। अनुसन्धानकर्ताहरूका अनुसार भविष्यमा यस्ता संकेतलाई विश्वसनीय पूर्वसंकेतका रूपमा पुष्टि गर्न सकिए उच्च हिमाली हिमनदीमा हुने अल्पकालीन अस्थिरता पहिचान गरी पूर्वसूचना प्रणाली विकास गर्न सहयोग पुग्न सक्छ।जलवायु तापक्रम वृद्धि भइरहेको अवस्थामा उच्च हिमाली क्षेत्रमा हुने यस्ता क्रायोस्फेरिक विपद्लाई एउटा मात्र घटनाका रूपमा नभई ‘मुहानको अस्थिरता–हिमपहिरो–बाटोमा सामग्री थपिनु–लेदो प्रवाह–तल्लो क्षेत्रमा क्षति’ सम्मको सम्पूर्ण विपद् शृङ्खलाका रूपमा बुझ्नुपर्ने अनुसन्धानको मुख्य सन्देश छ। यो अध्ययन चिनियाँ विज्ञान प्रतिष्ठानको इन्स्टिच्युट अफ तिब्बती प्लेटो रिसर्च, युनान विश्वविद्यालय, द चाइनिज युनिभर्सिटी अफ हङकङ, उहान विश्वविद्यालय, सेन्ट्रल साउथ विश्वविद्यालयलगायत विभिन्न संस्थाको संयुक्त सहभागितामा गरिएको हो। अध्ययनका निष्कर्ष मंगलबार चिनियाँ शैक्षिक जर्नल ‘चाइनिज साइन्स बुलेटिन’मा प्रकाशित भएका हुन्।