सुर्खेत । अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित भएको छ। आइतबार बेलुकीदेखि राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सडकमा क्षति पुगेपछि जुम्ला तथा कर्णालीका अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु र मालवाहक सवारीसाधन समस्यामा परेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार पहिरो पन्छाउने तथा क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको भए पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ।जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरिएको उनले बताए। ‘राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ। सडक खुलाउने काम भइरहेको छ। तर, कतिपय स्थानमा सडकमा क्षति पुगेकाले पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्न सक्छ,’ उनले भने।
वर्षा अझै जारी रहेकाले थप पहिरो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याए पनि पुनः पहिरो खस्ने सम्भावना रहेकाले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म सावधानी अपनाउन आग्रह गरिएको छ। सडकको अवस्था यकिन नगरी यात्रा गर्दा बीच बाटोमै सवारीसाधन रोकिएर यात्रु तथा चालक समस्यामा पर्न सक्ने भएकाले सम्बन्धित निकायसँग जानकारी लिएर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।विशेषगरी कर्णाली राजमार्गमा वर्षायाममा पहिरोको जोखिम उच्च हुने भएकाले सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर मात्रै यात्रा तथा मालसामान ढुवानी गर्न प्रमुख जिल्ला अधिकारी प्रसाईंले आग्रह गरेका छन्। कुन स्थानमा यातायात सञ्चालन भइरहेको छ र कुन स्थानमा अवरोध छ भन्ने जानकारी लिएर मात्रै सवारी सञ्चालन गर्न उनले अनुरोध गरेका हुन्।अवरुद्ध सडकखण्डमा पहिरो हटाउन सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायबाट आवश्यक मेसिन र जनशक्ति परिचालन गरिएको छ। पहिरो पन्छाउनेसँगै क्षतिग्रस्त सडकको अवस्थाअनुसार मर्मतको काम पनि अघि बढाइएको छ। तर कतिपय स्थानमा सडक नै क्षतिग्रस्त हुनुका साथै माथिबाट निरन्तर ढुंगा–माटो खस्ने अवस्था रहेकाले उद्धार तथा मर्मत कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
कर्णाली राजमार्गमा बर्खाको समयमा पटक–पटक पहिरो जाने समस्या देखिँदै आएको छ। गगनेखोला, पिली, मोल्फा, एस मोडलागायतका स्थानमा विगतमा पनि पहिरोका कारण यातायात अवरुद्ध हुँदै आएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको सडकखण्डका विभिन्न स्थान पहिरोको जोखिममा छन्।जिल्ला प्रशासन कार्यालय जुम्लाले सडक खुलाउने काम भइरहेको अवस्थामा जबर्जस्ती सवारीसाधन अघि नबढाउन तथा सडक खुलेको आधिकारिक जानकारी नआएसम्म मालवाहक सवारीसाधन नचलाउन आग्रह गरेको छ। राजमार्ग सञ्चालनका लागि सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन र सुरक्षा निकायबीच आवश्यक समन्वय भइरहेको र सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले जानकारी दिए। अवस्था सामान्य भएपछि राजमार्गमा नियमित रूपमा यातायात सञ्चालन हुने प्रशासनले जनाएको छ।