ग्यासको लाइनमा कक्षा ५ का मनिष, खोसियो पढ्ने दिन

ग्यासको लाइनमा कक्षा ५ का मनिष, खोसियो पढ्ने दिन

काठमाडौँ । एकातिर कक्षाकोठाको कालोपाटी छ, अर्कोतिर सडकको लाम। काठमाडौँको एउटा साँघुरो गल्लीमा बिहानै ग्यास पाइने आशामा शनिबारदेखि खाली सिलिन्डर कुर्दै कक्षा ५ का मनिष बस्नेत लाइनमा बसेका छन्। सामान्य दिन हुन्थ्यो भने यतिबेला उनी विद्यालयको पोसाकमा सजिएर कक्षाकोठाको बेन्चमा साथीहरूसँग गणितका हिसाब गरिरहेका वा नेपालीका कविता वाचन गरिरहेका हुन्थे। तर घरको चुलो निभेपछि उनको दैनिकी अहिले कालोपाटीको अगाडि होइन, सडकमा लामबद्ध ग्यास सिलिन्डरको अगाडि सुरु भएको छ।

सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिन्डर फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन्। हेर्दा लाग्छ, मानौँ कुनै कैदीको लस्कर उभिएको होस्। त्यही लस्करको बीचमा एउटा बालक आफ्नो घरको चुलो बाल्ने एउटा सिलिन्डरको प्रतीक्षामा बसेका छन्। ग्यास नपाउँदा विद्यालयसमेत जान नपाएको पीडा मनिषको अनुहार र बोलीमा प्रस्ट देखिन्छ।

आफ्नो व्यथा सुनाउँदै मनिषले भने, ‘ग्यास छैन। ग्यास पाएन। ग्यास छैन भनेकाले स्कुल नि जान पाएन।’ एक दिनको छुट्टी लिएर आएको बताउँदै उनले थपे, ‘अब ग्यास आएन भने फेरि मेरो ग्यासको पछाडिको मान्छेले आफ्नो अगाडि लान्छन्।’ शनिबारदेखि लाइनमा बसे पनि ग्यास नआएको बताउँदै उनले भने, ‘अब मंगलबारसम्म आउँछ, बसिराख्नु भनेको छ। म पाँच कक्षामा पढ्छु।’

मनिषका यी शब्द एउटा बालकको सामान्य गुनासो मात्र होइनन्। यी शब्दले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने राज्य संयन्त्र र नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। बालबालिकाले भविष्यका सपना देख्ने, नयाँ कुरा सिक्ने र खेल्दै–पढ्दै हुर्कने उमेरमा मनिषले भने अभाव र अनिश्चितताको पाठ सिकिरहेका छन्।

आफ्नो सिलिन्डर नहेरी एकछिन अन्तै गए पछाडिको व्यक्तिले आफ्नो सिलिन्डर अगाडि तानिदिन्छ भन्ने डर उनलाई छ। अभावले एउटा कलिलो मनलाई समेत प्रतिस्पर्धा र असुरक्षाको कठोर नियम बुझ्न बाध्य बनाएको छ। विद्यालयमा साथीहरूसँग बिताउनुपर्ने समय उनले सडकमा आफ्नो घरको सिलिन्डर पहरा दिँदै बिताइरहेका छन्।

शनिबारदेखि सुरु भएको उनको पर्खाइ सोमबारसम्म आइपुग्दा अझ लम्बिएको छ। आइतबार साँझसम्म पनि डिपोको सटर खुलेन। भोलि बिहानै गाडी आउँछ भन्ने आश्वासन पाएपछि मनिषले आमाबुबासँग सल्लाह गरे। आमाबुबा ज्यालामजदुरीमा जानैपर्ने बाध्यतामा छन्। कोही लाइनमा नबस्ने हो भने चार दिनसम्म गरेको पर्खाइ नै व्यर्थ हुने जोखिम थियो। त्यसैले मनिषले विद्यालयमा एक दिनको बिदा लिएर ग्यासको लाइन सम्हाल्ने जिम्मेवारी पाए।

तर त्यो एक दिनको बिदा अब अनिश्चित बनेको छ। एक दिन विद्यालय छुटाउने निर्णय चार दिनको गैरहाजिरीमा बदलिँदै गएको छ। मनिषको कापीमा शिक्षकले दिएका प्रश्नहरू अनुत्तरित छन् भने उनका साथीहरू कक्षामा पढिरहेका छन्। उनी भने सडकमा एउटा सिलिन्डरका लागि घण्टौँ पर्खिरहेका छन्।

यता सिंहदरबारका वातानुकूलित कोठाबाट सम्बन्धित अधिकारीहरूले बजारमा ग्यासको खासै अभाव नरहेको र केही दिनमै अवस्था सामान्य हुने दाबी गरिरहेका छन्। उपभोक्ताले आत्तिनु नपर्ने र लाइन बस्नुपर्ने अवस्था नरहने आश्वासन पनि दिइँदै आएको छ। तर सडकको वास्तविकता भने ती आश्वासनभन्दा फरक देखिन्छ। शनिबारदेखि सोमबारसम्म लाइन बस्दा पनि मनिषको हातमा सिलिन्डर परेको छैन। सयौँ मिटर लामो लाइनमा सिलिन्डरलाई सिक्री र ताल्चाले बाँधेर बालबालिकासमेत पहरा दिनुपर्ने अवस्था छ।

ग्यासको अभाव केवल भान्साको समस्या रहेन। यसले परिवारको रोजगारी, बालबालिकाको शिक्षा र नागरिकको दैनिक जीवनलाई समेत प्रभावित गरिरहेको छ। एउटा सिलिन्डरका लागि बालकले विद्यालय छाड्नुपर्ने अवस्था सिर्जना हुनु कुनै पनि सभ्य र समृद्ध समाजका लागि गम्भीर प्रश्न हो।

मंगलबारसम्म ग्यास आउला वा नआउला, त्यसको जवाफ समयले देला। केही थान ग्यासका सिलिन्डर आएर तत्कालको समस्या समाधान भए पनि मनिषले गुमाएको सोमबार भने कहिल्यै फर्किने छैन। सडकको लाइनमा बिताएका ती दिन र त्यहाँ सिकेको अभावको पाठ उनको स्मृतिमा लामो समय रहनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार