काठमाडौँ — १० भदौको भोटेकोशी बाढीपछि बन्द भएका नुवाकोटको विदुर नगरपालिकाका विद्यालय बुधबारदेखि सञ्चालनमा आउने भएका छन्। बाढी आएको १४ दिनपछि नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।विदुरमा बाढीअघि ७९ विद्यालय सञ्चालनमा रहे पनि तत्काल ६५ वटा विद्यालय मात्र सञ्चालनमा आउने भएका छन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढीबाट क्षति भएका तथा अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) का रूपमा प्रयोग भइरहेका विद्यालयबाहेक अन्य विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख प्रभा बोगटीले बताइन्।
नगरपालिकाका अनुसार बाढी प्रभावित क्षेत्रका विद्यार्थीले आफूलाई पायक पर्ने जुनसुकै नजिकको विद्यालयमा अध्ययन गर्न पाउनेछन्। विद्यालयको पोसाक नभए पनि विद्यार्थीले अप्ठ्यारो मान्न नपर्ने र आवश्यक सहजीकरण विद्यालयबाटै गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि सामुदायिक तथा निजी विद्यालयलाई सर्कुलरसमेत गरेको छ। सर्कुलरमा होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएका र पूर्ण रूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरिएको छ।विदुरका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार पालिकाभर ५४ सामुदायिक र २५ निजी गरी ७९ विद्यालय छन्। तीमध्ये तीन सामुदायिक र दुई निजी विद्यालय बाढीबाट पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, आठ सामुदायिक र एक निजी विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ।
यसरी पूर्ण रूपमा क्षति भएका तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालयबाहेक ४३ सामुदायिक र २२ निजी गरी ६५ विद्यालय बुधबारदेखि सञ्चालनमा आउनेछन्। होल्डिङ सेन्टर रहेका तथा क्षति भएका विद्यालय सञ्चालनबारे नगरपालिकाले छिट्टै निर्णय लिने जनाएको छ।