गोरखा । उत्तरी गोरखा र मनाङको सिमानामा रहेको पाँच हजार १०६ मिटर उचाइको लार्केपास बाक्लो हिमपातका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको भारी हिमपातपछि बाटोमा बाक्लो हिउँ जम्दा लार्केपास हुँदै मनाङ आवतजावत ठप्प भएको हो।लार्केपास बन्द हुँदा चुमनुब्री गाउँपालिका–१ सामागाउँ र साम्दोका स्थानीयको जनजीवन प्रभावित भएको छ। साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाका अनुसार वर्षायाममा बाढीपहिरोका कारण तल्लो क्षेत्रबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्न नसकेपछि मनाङको भीमथाङ बजारबाट लार्केपास हुँदै सामान ओसारपसार हुँदै आएको थियो। अहिले लार्केपासमा बाक्लो हिउँ जमेर बाटो नै मेटिएपछि सामान ढुवानी गर्न समस्या भएको छ।
लामाका अनुसार सामागाउँ र साम्दोका लागि सामान लिन गएका खच्चड मनाङमै रोकिएका छन् भने मनाङबाट आएका खच्चड पनि गोरखातर्फ आउन सकेका छैनन्। लार्केपास केही दिनसम्म नखुले खाद्यान्न अभाव हुनसक्ने स्थानीयको चिन्ता छ।यसैबीच, बाढीपहिरोका कारण मनास्लु पदमार्गका विभिन्न स्थानमा समेत बाटो अवरुद्ध भएको छ। बाढीले पदमार्गका पुल बगाएपछि घोडा र खच्चड आवतजावतमा रोक लगाइएको छ। स्थानीय तथा पर्यटकको आवतजावत सहज बनाउन केही स्थानमा अस्थायी काठेपुल निर्माण गरिएको भए पनि खाद्यान्न ढुवानीमा भने समस्या कायमै छ।चुमनुब्री गाउँपालिका–१ का वडाध्यक्ष कर्मा छेवाङ लामाका अनुसार मनास्लु पदमार्ग अवरुद्ध भएपछि सामागाउँ र साम्दोका लागि खाद्यान्न ढुवानीको मुख्य विकल्प मनाङको भीमथाङ बजार बनेको थियो। तर अहिले हिमपातका कारण लार्केपाससमेत बन्द भएपछि स्थानीय थप समस्यामा परेका छन्।
लार्केपास अवरुद्ध हुँदा मनास्लु–लार्के–चुम क्षेत्रको पर्यटनसमेत प्रभावित भएको स्थानीय निमा लामाले बताए। पर्यटकीय सिजनमा लार्केपास पार गर्न आएका सयौँ स्वदेशी तथा विदेशी पर्यटक सामागाउँ र साम्दोमा रोकिएका छन्। यसबाट पर्यटकसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी, गाइड र पोर्टरहरू प्रभावित भएका छन्।स्थानीयले लार्केपास तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), चुमनुब्री गाउँपालिका र चुमनुब्री होटल व्यवसायी संघलाई पत्राचार गरेका छन्।विगतमा पनि भारी हिमपातका कारण लार्केपास अवरुद्ध हुने गरेको थियो। गत वर्ष स्थानीय युवाहरूले हिउँ पन्छाएर बाटो खुलाएका थिए। तर यस वर्ष हिउँ अत्यधिक बाक्लो भएकाले स्थानीयको प्रयासले मात्र बाटो खुलाउन सम्भव नहुने स्थानीय निमा दोर्जे लामाले बताएका छन्।