काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा भएका विपद्का सम्बन्धमा अध्ययन गर्न गठित १५ सदस्यीय संसदीय विशेष समितिको पहिलो बैठक आज सिंहदरबारमा बस्दैछ। असोज ५ गते गठन भएको समितिको आजको मुख्य कार्यसूची सभापति चयन गर्नु रहेको छ। समितिको सभापति पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ। पराजुलीको प्रस्तावकमा सांसद मोहन आचार्य तथा समर्थकमा निशा डाँगी, पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुव राई र सरस्वती लामा रहेका छन्। एकल उम्मेदवारी परेकाले आजको बैठकले पराजुलीलाई समितिको सभापतिमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ। समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन्। सभापति चयनसँगै समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा भएका विपद्का कारण, प्रभाव र न्यूनीकरणका उपायबारे औपचारिक अध्ययन तथा अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।