काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरएन राईले त्रिपुरेश्वरमा केही दिनअघि भएको बस आगलागीका पीडित अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म कुनै संवाद वा सम्पर्क नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले पीडित परिवारले अहिलेसम्म कुनै सहयोग नपाएको र गुनासो लिएर विभिन्न निकाय धाउनुपरेको बताए। उनले पीडित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
त्यस्तै, राईले मुस्ताङको हिमलुङ हिमालमा असोज ११ गते गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य प्रभावकारी नभएको भन्दै आपत्ति जनाए। हिमपहिरोमा खोजी कार्यका लागि गएका खोटाङका तीन जना स्थानीयमध्ये एक जनाको शव भेटिए पनि ल कुमार गुरुङ र सुरज राई अझै बेपत्ता रहेको उनले बताए। बेपत्ताहरूको खोजी कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यान दिन उनले सरकारसँग आग्रह गरे।
सांसद राईले पोल्यान्डमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेको बैंकिङ समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार पोल्यान्डका केही बैंकले नेपाली श्रमिकलाई खाता खोल्न नदिँदा उनीहरूलाई दैनिक आर्थिक कारोबारमा समस्या भइरहेको छ। नेपाल ग्रे लिस्टमा रहेको कारण देखाउँदै बैंकहरूले खाता खोल्न अस्वीकार गर्ने गरेको र नयाँ खाता खोल्ने क्रममा नेपाली पासपोर्ट नम्बर प्रयोग गर्दा समेत समस्या आउने गरेको उनले बताए। उनले परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायलाई तत्काल कूटनीतिक पहल गरी पोल्यान्डमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधान गर्न आग्रह गरे।