काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको सरकारको ६ महिनाको कार्यसम्पादनप्रति ‘केही आशङ्का सहितको आशा’ अनुभूत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ पृष्ठभूमिबाट आएको युवा बाहुल्य सरकारलाई जटिल राजकाजका विभिन्न पक्ष बुझ्न र सिक्न केही समय लाग्नु स्वाभाविक भएको उल्लेख गरेका छन्। तर अब सरकारको मुख्य परीक्षा तीव्र आर्थिक–सामाजिक रूपान्तरण, रोजगारी सिर्जना र समृद्धिको क्षेत्रमा हुने उनको भनाइ छ। दशकौँदेखि चल्दै आएको सुस्त विकासको गतिले रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौँ युवाको बढ्दो आकाङ्क्षा सम्बोधन गर्न नसक्ने भन्दै उनले केही दशकसम्म व्यापक रोजगारीसहित दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने स्पष्ट नीति तथा योजना आवश्यक रहेको बताएका छन्। नेपालको अर्थतन्त्रलाई वर्तमान अवस्थाबाट उच्च विकसित अवस्थामा पुर्याउन प्रधानमन्त्री मातहत अधिकारसम्पन्न ‘हाई लेभल कमिसन फर इकोनोमिक टेकअफ’ जस्तो विशेष संरचना बनाएर सिंगापुर, दक्षिण कोरिया र चीनले हासिल गरेको तीव्र आर्थिक विकासबाट सिक्ने साहस सरकारले गर्नुपर्ने उनको सुझाव छ। यस्तो लक्ष्य हासिल गर्न सरकारले ठोस कदम चाल्छ कि चाल्दैन भन्ने विषयमा आगामी केही महिना महत्वपूर्ण परीक्षाका महिना हुने भट्टराईले बताएका छन्।