काभ्रेमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

काभ्रेमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

काभ्रे । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धिलाई हस्तक्षेप गर्दै उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको सुपथ मूल्य पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ।बनेपाको तीनदोबाटोस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको वितरण केन्द्रमा सञ्चालित सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछ। शनिबारसहित सातै दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पसल खुला रहनेछ। साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार पसलमा विशेष मूल्यसूची निर्धारण गरिएको छ। जसअनुसार नुन प्रतिकिलो २४ रुपैयाँ र चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ। २५ किलोग्रामको भान्साघर स्टिम जिरा मसिनो चामलको मूल्य दुई हजार ५८० रुपैयाँ कायम गरिएको छ भने मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामल छुटसहित बिक्रीका लागि राखिएका छन्।

त्यस्तै, मुसुरो दाल प्रतिकिलो १४० रुपैयाँ, रहर दाल २१० रुपैयाँ, मास दाल २०५ रुपैयाँ र चना दाल १५५ रुपैयाँमा बिक्री भइरहेको छ। मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको कार्यालयले जनाएको छ। मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत बिक्रीका लागि राखिएका छन्।घ्यु तथा तेलतर्फ डिडीसी घ्यु एक हजार १४० रुपैयाँ, शान्ति तोरीको तेल ३८० रुपैयाँ र तृप्ति तोरीको तेल २७० रुपैयाँमा उपलब्ध छन्। सनबिम सूर्यमुखी तेलका साथै अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चियासमेत बिक्रीमा राखिएका छन्। खाद्यान्नबाहेक अन्य घरायसी सामग्रीमा समेत सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ।त्यस्तै, एसटिसी ग्यास सिलिन्डर दुई हजार १६५ रुपैयाँ, लुनारको दुई हजार वाटको इन्डक्सन कुकटप चार हजार ९६० रुपैयाँ र किनमेल गर्ने झोला ३५ रुपैयाँमा उपलब्ध रहेको कार्यालय प्रमुख अवालेले बताए। उनले चाडपर्वका बेला आवश्यक उपभोग्य वस्तु सुलभ र सहज रूपमा खरिद गर्न उपभोक्तालाई आग्रह गरेका छन्।

खुला बजारको तुलनामा सुपथ मूल्य पसलमा खाद्यान्न तथा घरायसी सामान सस्तो दरमा पाएपछि उपभोक्ताले राहत महसुस गरेका छन्। बनेपाकी स्थानीय उपभोक्ता रमिता नेपालीले बजारमा महँगी बढिरहेका बेला साल्ट ट्रेडिङले चाडपर्वको मुखमा सस्तोमा नुन, तेल, चामल र दाल उपलब्ध गराउँदा आफूहरूजस्ता सर्वसाधारणलाई ठूलो राहत भएको बताइन्। उनका अनुसार सुपथ मूल्य पसलका कारण घरखर्च व्यवस्थापन गर्न सहज भएको छ।साल्ट ट्रेडिङ कर्पोरेशनले असोज १ गतेदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। कर्पोरेशनले बनेपा र धुलिखेलसहित विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार