भारतबाट खैरो हेरोइन ल्याई काठमाडौंमा बिक्री गर्ने आरोपमा दुई जना पक्राउ

भारतबाट खैरो हेरोइन ल्याई काठमाडौंमा बिक्री गर्ने आरोपमा दुई जना पक्राउ

काठमाडौं । भारतबाट खैरो हेरोइन ल्याई काठमाडौं उपत्यकामा बिक्री–वितरण गर्ने गिरोहविरुद्धको कारबाहीका क्रममा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका भनिएका लमजुङ बेसीशहर नगरपालिका–२ का २७ वर्षीय विक्रम गुरुङ र भारत पश्चिम बंगालकी ५० वर्षीया प्रिया भुजेल रहेका छन्। ब्यूरोको टोलीले असोज १३ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका–७, सतुङ्गलबाट गुरुङलाई पक्राउ गर्दा उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र नगद ७ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। गुरुङमाथि गरिएको थप अनुसन्धानका क्रममा भारतको सिलगुढीबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर आपूर्ति गर्ने आरोपमा भुजेललाई असोज १४ गते चन्द्रागिरी–१२ बाट १८२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गुरुङ यसअघि २०८१ असोज २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसम्बन्धी मुद्दामा कारबाहीका क्रममा जगन्नाथ देवल कारागारमा थुनामा रहेका थिए र जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएको प्रहरी अभिलेखबाट खुलेको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार