झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीमार्फत उपलब्ध गराउन थालेको छ। कार्यालयले धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक कार्यक्रम, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्र तथा राहदानीको अवस्था र प्रहरी सर्जमिन तथा चालचलनसम्बन्धी सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउन थालेको हो। सेवाग्राहीले सम्बन्धित अनलाइन पोर्टल, डेडिकेटेड इमेल, ह्वाट्सएप तथा टेलिफोनमार्फत सेवा लिन सक्नेछन्। सेवा व्यवस्थापनका लागि कार्यालयले छुट्टै हेल्प डेस्कसमेत सञ्चालनमा ल्याएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार प्रविधिको प्रयोगमार्फत सेवाग्राहीको समय र खर्च बचत गर्नुका साथै कार्यालयमा हुने भिडभाड घटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले फेसलेस सेवा सुरु गरिएको हो। नयाँ प्रणाली प्रभावकारी बनाउन सम्बन्धित कर्मचारीलाई अभिमुखीकरण दिइसकिएको र आवश्यकताअनुसार सेवाको स्तरोन्नति गर्दै लैजाने कार्यालयले जनाएको छ।