नयाँ पुस्ताको जोस र पुरानो पुस्ताको अनुभव मिलाएर कांग्रेस अघि बढाउनुपर्छ : सुरेन्द्रराज पाण्डे

नयाँ पुस्ताको जोस र पुरानो पुस्ताको अनुभव मिलाएर कांग्रेस अघि बढाउनुपर्छ : सुरेन्द्रराज पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरेर अघि बढाउनुपर्ने बताएका छन्। नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नयाँ र पुरानो पुस्ताको सहकार्यबाट मात्रै नेपाली कांग्रेसलाई पुनः सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने पार्टीका रूपमा विकास गर्न सकिने बताए।

कांग्रेसको अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका पाण्डेले पार्टीभित्रका सबै पक्षलाई समेटेर एकताबद्ध रूपमा अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिए। उनले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र पुराना नेताकार्यकर्ताको अनुभवलाई समेटेर थप प्रभावकारी बनाउनुपर्ने बताए।

पाण्डेले आफूले लामो समयदेखि नेपाली कांग्रेस तथा भ्रातृ संगठनमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारी र एजेन्डालाई सहयोग गर्न सबैलाई आग्रह गरे। उनले पार्टीको संगठनलाई बलियो बनाउँदै आगामी दिनका राजनीतिक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माणमा आफू प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार