काठमाडौँ । त्रिशूली–भोटेकोशी महाविपद् अध्ययन विशेष संसदीय समितिको टोलीले नुवाकोटको विदुर नगरपालिकामा पुगेर विपद् र विपद्पछिको अवस्थाबारे जानकारी लिएको छ। समितिका सभापति गणेश पराजुलीको नेतृत्वमा पुगेको टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग छलफल गरेको हो। छलफलका क्रममा खोज तथा उद्धार, राहत तथा अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापना, सुरक्षित पुनर्स्थापना र पुनर्वासका लागि भइरहेका तयारीबारे जानकारी लिइएको थियो। साथै, दिगो पुनर्निर्माण तथा भविष्यमा विपद्को जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे स्थानीय प्रतिनिधिहरूबाट सुझाव संकलन गरिएको समितिका सभापति पराजुलीले जानकारी दिए। स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा तथा सम्पर्क सञ्जाल तत्काल पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आवश्यक परे कानुन संशोधन गरेर भए पनि समस्या सम्बोधन गर्न आग्रह गरेका छन्। गत भदौ १० गते गएको विपद् र त्यसबाट परेको प्रभावबारे अध्ययन गर्न पराजुलीको नेतृत्वमा विशेष संसदीय समिति गठन गरिएको हो।