काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेता नैनसिंह महरले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टीको कार्यसंस्कृति परिवर्तन गर्दै संगठनलाई परिणाममुखी बनाउने संकल्पसहित महाधिवेशनको मैदानमा उत्रिएका महरले कांग्रेसका सबै धारलाई एकताबद्ध गर्दै नयाँ युगअनुकूल पार्टी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महरले महामन्त्रीको कार्यालयलाई उत्कृष्ट कार्यसम्पादन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। पार्टीभित्र निर्णय हुने तर कार्यान्वयनमा ढिलाइ हुने अवस्थाको अन्त्य गर्दै निर्णय र कार्यान्वयनबीचको दूरी घटाउनु आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ छ। ‘निर्णय समयमा होस्, जिम्मेवारी स्पष्ट होस् र कार्यकर्ताले आफ्नो योगदानको मूल्य देख्न सकून्’ भन्ने मान्यताका साथ संगठन सञ्चालन गर्नुपर्ने उनले बताएका छन्। केन्द्रदेखि तल्लो तहसम्मका कार्यकर्तासँग नियमित संवाद हुने प्रणाली विकास गरी उनीहरूको क्षमता र योगदान पहिचान गर्ने उनको योजना छ।
विगतमा पार्टीभित्र एउटा निश्चित गुटसँग निकट रहेर सक्रिय भएको आरोप लाग्ने गरेका महरले भने अब सिंगो कांग्रेसलाई आफ्नो कार्यक्षेत्रका रूपमा अघि सारेका छन्। महाधिवेशनको प्रतिस्पर्धा सकिएपछि सबै नेता–कार्यकर्तालाई एउटै साझा यात्रामा जोड्न सक्नु नै नेतृत्वको वास्तविक परीक्षा हुने उनको तर्क छ। संगठनमा एकता कायम राख्न निष्पक्ष व्यवहार आवश्यक रहेको भन्दै उनले पार्टीका नियम सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। निर्वाचनमा पद नपाएका तर योग्य र क्षमतावान् कार्यकर्तालाई विषयगत परिषद् तथा नीति समूहमा आबद्ध गरी उनीहरूको ज्ञान र अनुभव पार्टीको हितमा उपयोग गर्ने रणनीति पनि उनले अघि सारेका छन्। महरले नयाँ पुस्तामा राजनीतिप्रति बढ्दै गएको वितृष्णालाई कांग्रेसले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्। युवालाई निर्वाचनका बेला मत माग्ने र भीड जम्मा गर्ने साधनका रूपमा मात्र प्रयोग गर्न नहुने उनको भनाइ छ। कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन तथा विश्व श्रम बजारजस्ता समसामयिक विषयलाई पार्टीको नीति र बहसमा समेट्नुपर्ने उनले बताएका छन्। देशभित्रै लगानीको सुरक्षा, रोजगारीका अवसर र क्षमताअनुसार काम गर्ने वातावरण सिर्जना गर्न सके मात्रै युवा पलायन रोक्न सकिने महरको निष्कर्ष छ। युवाले मेहनतको उचित मूल्य र आफ्नो क्षमता प्रयोग गर्ने अवसर देखेमा स्वदेशमै भविष्य खोज्ने उनको विश्वास छ। विदेशमा रहेका नेपालीको पुँजी, सीप र अनुभवलाई समेत राष्ट्रिय शक्तिमा रूपान्तरण गर्नुपर्ने उनले बताएका छन्।
आर्थिक नीतिका विषयमा महरले लोकतान्त्रिक समाजवादलाई वर्तमान समयअनुकूल पुनर्व्याख्या गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। राज्यले आधारभूत सेवा र निष्पक्ष नियम सुनिश्चित गर्नुपर्ने तथा निजी क्षेत्रले उत्पादन र रोजगारी विस्तारमा भूमिका खेल्नुपर्ने उनको धारणा छ। उत्पादन र अवसरलाई सँगसँगै अघि नबढाएसम्म नेपालको आर्थिक समस्या समाधान हुन नसक्ने उनले स्पष्ट पारेका छन्। हाल प्रतिपक्षमा रहेको कांग्रेसले सरकारको विरोध मात्र गरेर नपुग्ने भन्दै महरले आफूलाई भावी शासन सञ्चालनका लागि सक्षम र जिम्मेवार शक्तिका रूपमा तयार गर्नुपर्ने बताएका छन्। सरकारले गल्ती गर्दा तथ्य र प्रमाणका आधारमा प्रश्न उठाउने तथा राम्रो काम गर्दा समर्थन गर्ने आत्मविश्वास कांग्रेसको प्रतिपक्षी भूमिकामा हुनुपर्ने उनको भनाइ छ। सुदूरपश्चिमबाट उठेर केन्द्रीय नेतृत्वमा महामन्त्री पदका लागि दाबी प्रस्तुत गरेका महरले भूगोल प्रतिभा र नेतृत्व क्षमताको बाधक बन्न नहुने सन्देशसमेत दिएका छन्। कांग्रेसले विगतको ऐतिहासिक विरासतको चर्चा मात्र गरेर अबको पुस्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले वर्तमानका ज्वलन्त प्रश्नको समाधान दिनु १५औँ महाधिवेशनको प्रमुख कार्यभार भएको बताएका छन्। अर्थतन्त्रलाई गति दिने, रोजगारी सिर्जना गर्ने, सार्वजनिक सेवा सुधार गर्ने र संगठनलाई प्रभावकारी बनाउने विषयलाई पार्टीको नीति तथा कार्यशैलीमा रूपान्तरण गर्न सके मात्रै कांग्रेसको वास्तविक रूपान्तरण सम्भव हुने महरको निष्कर्ष छ।