काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा सुदूरपश्चिमका प्रभावशाली नेता जनकराज गिरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। उनले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन्। पार्टीको केन्द्रीय नेतृत्वमा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई थप बलियो बनाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको गिरीले बताएका छन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा देशभर फरक राजनीतिक माहोल बने पनि गिरी बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। शालीन, भद्र र स्पष्ट राजनीतिक अडानका कारण उनी कांग्रेसभित्र लोकप्रिय नेताका रूपमा चिनिन्छन्। लामो समयदेखि सुदूरपश्चिममा कांग्रेसको संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका गिरीले क्षेत्रीय मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्याउनुपर्नेमा जोड दिँदै आएका छन्। गिरीले नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका नेताको सामीप्यमा रहेर काम गरेका थिए। उनी कांग्रेसको विशेष महाधिवेशनका अगुवामध्ये एक हुन्। केन्द्रमा गगन थापा र विश्वप्रकाश पौडेललगायतका नेताले विशेष महाधिवेशनको अगुवाइ गरिरहँदा सुदूरपश्चिम प्रदेशमा त्यसको पक्षमा माहोल बनाउन गिरी अग्रपङ्क्तिमा खटिएका थिए।
गिरी २०५६ सालमा ३२ वर्षको उमेरमै सांसद बनेका थिए। तत्कालीन सरकारमा उनले भूमिसुधार सहायक राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। लामो राजनीतिक अनुभव, संगठन निर्माणमा सक्रियता र सुदूरपश्चिमका मुद्दाप्रतिको निरन्तर पैरवीलाई आफ्नो राजनीतिक आधारका रूपमा प्रस्तुत गर्दै उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन्। महाधिवेशन प्रतिनिधिको सहयोग र आफू प्रतिको विश्वास नै आफ्नो विजयको आधार बन्ने गिरीको विश्वास छ। सहमहामन्त्रीमा निर्वाचित भए पिछडिएको क्षेत्र, सुदूरपश्चिम र पार्टी संगठनका मुद्दालाई केन्द्रीय नेतृत्वमा थप प्रभावकारी रूपमा उठाउने उनले बताएका छन्। उनको उम्मेदवारीलाई सुदूरपश्चिम तथा पिछडिएको क्षेत्रको राजनीतिक प्रतिनिधित्वलाई कांग्रेसको केन्द्रीय नेतृत्वमा थप सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ।