काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रको संगठनात्मक कमजोरी, गुटबन्दी र आन्तरिक अविश्वास अन्त्य गर्दै पार्टीलाई सुदृढ, गतिशील र जनआधारित राजनीतिक शक्तिका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेका छन्। ललितपुरको ज्यापू सभा हलमा बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाबारे विस्तृत खाका सार्वजनिक गरेका हुन्।
यादवले जसपासँग स्पष्ट वैचारिक आधार, लामो संघर्षको इतिहास र अनुभवी नेतृत्व भए पनि अपेक्षाअनुसार संगठन विस्तार र राजनीतिक प्रभाव बढ्न नसकेको उल्लेख गरेका छन्। संगठनात्मक कमजोरी, नेतृत्वबीचको गुटबन्दी तथा अविश्वास, नियमित प्रशिक्षणको अभाव र जनतासँगको कमजोर सम्पर्कले पार्टीको गति सुस्त भएको उनको प्रतिवेदनमा उल्लेख छ। यी समस्या समाधान गर्दै पार्टीलाई प्रभावकारी र जनतासँग जोडिएको राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने योजना अघि सारिएको छ। पार्टीका सम्पूर्ण सदस्यको अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी नियमित अद्यावधिक गर्ने तथा नयाँ सदस्यता वितरण र नवीकरण अभियान सञ्चालन गर्ने जसपाको योजना छ। बुथदेखि केन्द्रसम्म स्पष्ट जिम्मेवारी र अधिकारसहितका सक्रिय कमिटी निर्माण गर्ने तथा प्रत्येक संगठनात्मक तहमा सूचना प्रविधि सेल गठन गर्ने प्रस्ताव पनि प्रतिवेदनमा समेटिएको छ। सामाजिक सञ्जाल र आधुनिक सञ्चार माध्यमको अधिकतम प्रयोग गरी पार्टीका नीति तथा सिद्धान्तलाई सरल र जनमैत्री भाषामा नागरिकसम्म पुर्याउने लक्ष्य राखिएको छ।
युवाको क्षमता, सिर्जनशीलता र प्रविधिमैत्री दक्षतालाई पार्टी निर्माणमा उपयोग गर्दै उनीहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने यादवले बताएका छन्। साथै महिला, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम र थारूलगायत सीमान्तकृत समुदायको राजनीतिक सहभागिता बढाउन विशेष नेतृत्व विकास कार्यक्रम सञ्चालन गरिनेछ। पार्टीभित्र स्वस्थ बहस र सामूहिक निर्णय प्रणालीलाई संस्थागत गर्दै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने नीति पनि अघि सारिएको छ। आर्थिक पारदर्शिता कायम गर्न आय–व्ययलाई विधानअनुसार व्यवस्थित गर्ने तथा अनुशासनहीनता र गुटबन्दीमा संलग्न हुनेमाथि कडा कारबाही गर्ने प्रस्ताव गरिएको छ। पुराना तथा त्यागी कार्यकर्ताको योगदानको अभिलेख राखी मूल्याङ्कनका आधारमा पार्टीभित्र अवसर वितरण गर्ने नीति पनि यादवले अघि सारेका छन्। यादवले ‘नेतामुखी पार्टी होइन, कार्यकर्तामुखी पार्टी; चुनावमुखी पार्टी होइन, जनमुखी पार्टी’ निर्माण गर्ने संकल्प गरेका छन्। जसपालाई निर्वाचनका बेला मात्र सक्रिय हुने राजनीतिक संयन्त्रका रूपमा नभई वर्षभरि जनताका बीचमा काम गर्ने सामाजिक–राजनीतिक संस्थाका रूपमा विकास गर्ने उनको योजना छ। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र सुशासनजस्ता जनताका दैनिक समस्यासँग पार्टीलाई प्रत्यक्ष रूपमा जोडेर विभिन्न अभियान सञ्चालन गरिनेछ। यसैगरी मधेसका मुद्दालाई पहाड र हिमालका आदिवासी, दलित तथा अन्य सीमान्तकृत समुदायका मुद्दासँग जोड्दै समानता, समावेशी लोकतन्त्र र राष्ट्रिय पहिचानका विषयलाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्ने जसपाको वैचारिक रणनीति रहेको छ। समयमै अधिवेशन सम्पन्न गर्ने, पार्टीका संरचनालाई निष्क्रिय हुन नदिने तथा निरन्तर कार्यसम्पादन मूल्याङ्कन गर्ने संयन्त्र विकास गर्ने यादवले प्रतिवेदनमार्फत बताएका छन्।