काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा यात्रा गर्ने महिला यात्रुलाई सवारी साधनको क्याबिन सिटमा नराख्न देशभरका यातायात व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’का अनुसार क्याबिनमा महिला यात्रुलाई राख्दा उनीहरूको सुरक्षा तथा सहजतामा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो।
महासंघले महिला यात्रुका लागि छुट्टै सुरक्षित सिटको व्यवस्था गर्न र टिकट काट्दाकै समयमा उनीहरूलाई सुरक्षित सिट सुनिश्चित गर्न निर्देशन दिएको जनाएको छ। अध्यक्ष सिटौलाले महिला यात्रुलाई प्राथमिकताका साथ सुरक्षित सिटमा राख्न कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिइएको बताउँदै क्याबिन सिटमा राखेको वा टिकट काट्दा बेवास्ता गरेको पाइएमा सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिएका छन्।
दसैँ–तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले महिला यात्रुलाई क्याबिनमा कोचेर लैजाने प्रवृत्ति रोक्न महासंघले अग्रिम बुकिङमा समेत विशेष निगरानी बढाएको छ। महासंघले यात्रुहरूलाई टिकट काट्दा आफ्नो सिट नम्बर र स्थानबारे यकिन गर्न आग्रह गरेको छ।