काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने बताएका छन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो दृष्टिकोण तथा कार्ययोजना प्रस्तुत गर्दै उनले सिंगो दक्षिण एसिया बेलायती उपनिवेशमा रहँदासमेत नेपाल स्वतन्त्र र अविभाज्य रहनु नेपालको कूटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको बताए। विकास, पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी रहे पनि नेपालको सार्वभौमिकता र राष्ट्रिय पहिचान जोगाउन कूटनीति सफल रहेको उनको भनाइ थियो। नेपालजस्तो सानो राष्ट्रका लागि नक्सा, झण्डा र राष्ट्रिय पहिचानका विषय संवेदनशील हुने भएकाले कूटनीतिक वार्तामा पर्याप्त गृहकार्य र परिपक्वता आवश्यक रहेको उनले उल्लेख गरे।
बीपी कोइराला भारत–नेपाल फाउन्डेसन (बीपीकेएफ) को प्रभावकारिता घट्दै गएको विषयमा बोल्दै डा. पाण्डेले यसलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। विगतमा नेपाल सरकारबाट पर्याप्त बजेट विनियोजन नहुँदा भारतको तुलनामा नेपाली पक्षका कार्यक्रम ओझेलमा परेको स्वीकार गर्दै उनले राष्ट्रिय प्राथमिकताका आधारमा फाउन्डेसनका गतिविधि अघि बढाउने प्रतिबद्धता जनाए। साथै, नयाँ दिल्लीस्थित नेपाली दूतावासको कार्यशैली र व्यवस्थापनमा व्यापक सुधार गर्ने बताउँदै उनले दूतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत नहुनु दुःखद भएको उल्लेख गरे। अतिरिक्त बजेटबिनै गर्न सकिने प्रशासनिक सुधार तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो अनुभव, ज्ञान, निष्ठा र सम्बन्ध सञ्जालको अधिकतम उपयोग गरी दूतावासको कार्यक्षमता अभिवृद्धि गर्ने बताए।