गोरखा र धादिङको सीमाक्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले गोरखाको शान्तिबजार तहसनहस बनाएको छ। स्थानीयका अनुसार बजारमा रहेका करिब ३० देखि ४० घरटहरा बाढीले पुरिएका वा बगाएका छन्। धादिङको गंगाजमुना गाउँपालिका–७ का ६० वर्षीय बुद्धिप्रसाद ढकालका अनुसार आइतबार बिहान भैंसी दुहिरहेका बेला नदीमा ठूलो आवाज आएको थियो। मोबाइलमा बूढीगण्डकीमा बाढी आएको भन्दै सतर्क रहन एसएमएस आएपछि उनी अग्लो डिलमा उक्लिएर नदीतर्फ हेर्न पुगेका थिए। उनले हेर्दाहेर्दै बाढीले शान्तिबजारमा ठूलो विनाश मच्चाएको बताए। स्थानीयले भागेर ज्यान जोगाए पनि पशुचौपाया र घरसम्पत्ति जोगाउन सकेनन्। अहिले विस्थापित स्थानीय माथिल्लो क्षेत्रमा रहेका खेतका गह्रामा अस्थायी टहरा बनाएर बस्न थालेका छन्। करिब तीन दशकअघि खुला चौर रहेको शान्तिबजारमा पछि बस्ती विकास भएको थियो। यसअघि २०७२ सालको गोरखा भूकम्पबाट प्रभावित बनेको यस क्षेत्रका बासिन्दाले पुनः घर बनाएर बसोबास गर्दै आएका थिए। तर, बूढीगण्डकीको पछिल्लो बाढीले उनीहरूको बस्ती फेरि उजाड बनाएको छ। बाढीका कारण नदीको धारसमेत परिवर्तन भएको स्थानीयले बताएका छन्।