काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ पठाएका छन्। एक महिलासँग आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरी ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन्। यस प्रकरणमा उठेका प्रश्नको जवाफ दिन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो। आयोगका एक सदस्यका अनुसार सुनारले तोकिएको समयभित्रै लिखित प्रतिक्रिया दिँदै आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन्। पीडित पक्षबाट हालसम्म उजुरी नआएको र सुनारले पनि आरोप स्वीकार नगरेको अवस्थामा आयोगले स्वतन्त्र छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।
अडियो प्रकरणको सत्यतथ्य पत्ता लगाउन रास्वपाको केन्द्रीय अनुशासन आयोगले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ। आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार अडियोको वास्तविक स्रोतसम्म पुगेर प्रमाण सङ्कलन गर्ने, आवश्यक कागजात मगाउने तथा सम्बन्धित मिडिया हाउससँग पत्राचार गर्ने काम अघि बढाइएको छ। अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकसँग भिडियो, अडियो तथा अन्य सम्बन्धित कागजात उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत आयोगले गरेको छ। अनुसन्धानलाई निष्पक्ष र वस्तुनिष्ठ बनाउन भट्टराईकै संयोजकत्वमा विशेष छानबिन समिति गठन गरिएको छ। समितिले आवश्यक प्रमाण सङ्कलन, विज्ञको राय तथा अडियोको प्रमाणीकरणलगायतका काम पूरा गरी आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगमा पेस गर्नेछ।