• २०८३ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने बताएका छन् । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्यका संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न प्रहरीलाई निर्देशन दिए । नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुन सुधारको तयारी भइरहेको उल्लेख गर्दै उनले प्रहरीलाई उत्प्रेरित गर्ने गरी सेवासुविधा थप गर्न सरकार प्रतिबद्ध रहेको बताए । अपराधले सीमा नचिन्ने भएकाले अन्तरदेशीय अपराधको नियन्त्रण तथा अनुसन्धान गर्न नेपाल प्रहरीलाई सक्षम निकायका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए । प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने उनको भनाइ थियो । गृहमन्त्री गुरुङले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था भइसकेको र नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारी दिए । साथै, उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार