काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैं, तिहार र छठ पर्व लक्षित गरि सुरक्षा योजना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरु पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताएका छन् ।
उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । हाम्रो लक्ष्यमा दशैं, तिहार र छठ पर्वमा शान्ती सुरक्षालाई सुदृढ तुल्याई काठमाडौं उपत्यकाको जीवनलाई सहज र सरल बनाउने लक्ष्य हो ।
चाडवाडमा लुटपाट, चोरीडकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृतिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आंकलन छ । यस्ता अपराधिक घटनाहरु न्युनिकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए ।