• २०८२ कार्तिक ८ गते शुक्रवार
  • Preeti To Unicode

सिरहामा न्याय नपाएको पीडित महिलाको मृत्यु, गृहमन्त्रीको तत्काल छानबिन निर्देशन


काठमाडौँ  – सिरहाको नवराजपुर गाउँपालिका–३, दोनबारी टोलमा २५ वर्षीया आनन्दी देवी सदाय झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक महिलाले मृत्यु हुनुअघि आफूमाथि यौन दुर्व्यवहार भएको र न्याय नपाएको गुनासो सार्वजनिक गरेकी थिइन्।

उनले आफूमाथि बलात्कार प्रयास भएको आरोप लगाएकी थिइन् र प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा समेत बेवास्ता गरिएको बताएकी थिइन्।

घटनालाई गम्भीर रूपमा लिँदै गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई तत्काल छानबिन गरी आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएका छन्। मन्त्री लेखकले दोषीलाई कानूनी दायरामा ल्याउन कुनै ढिलाइ नगर्न स्पष्ट निर्देशन दिएका हुन्।

मृतक महिलामाथि बलात्कार प्रयासको आरोप २२ वर्षीय सञ्जिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवमाथि लागेको छ। दुवै जना फरार छन् र भारततर्फ भागेको आशंका गरिएको छ।

प्रहरीका अनुसार, घटनाबारे अनुसन्धान जारी छ र फरार अभियुक्तहरूका नाममा पक्राउ पुर्जी जारी गरिएको छ। मृतक महिलाको मेडिकल परीक्षण तथा कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीको भनाइ छ। तर, अभियुक्तहरू फरार भएकाले प्रक्रियामा ढिलाइ भएको जनाइएको छ।

यो घटनाले प्रहरी प्रशासन र न्याय प्रणालीप्रति नागरिकको विश्वासमा गम्भीर प्रश्न खडा गरेको छ। पीडितले बारम्बार न्याय खोज्दा समेत पर्याप्त सुरक्षा र कानुनी सहायता नपाउनु समाज र राज्यप्रणालीका लागि गम्भीर चुनौतीको विषय बनेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार