• २०८२ कार्तिक ६ गते बुधवार
  • Preeti To Unicode

कांग्रेस महिला संघका २० केन्द्रीय सदस्यको सामूहिक राजीनामा


काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा नेतृत्वको विरोध स्वरूप २० जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिने सबै नेतृहरू कांग्रेसको शेखर–गगन पक्षसँग सम्बद्ध छन्।

राजीनामा दिने नेतृहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल, पार्वची आचार्य लगायत छन्।

राजीनामा दिने नेतृहरूले महिला संघकी अध्यक्ष उषा राउत मिश्रले संगठन पारदर्शी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा संघले विधानअनुसार कार्यक्रम सञ्चालन नगरेको, निर्णय प्रक्रियामा सहभागी नगराइएको, र समस्याहरू समाधान गर्न कुनै पहल नगरेको उल्लेख गरिएको छ।

बागलुङको विवादले थप चुलियो असन्तोष

बागलुङमा निर्वाचित महिला संघ अध्यक्ष शकुन्तला शर्मालाई ‘रिक्त’ घोषणा गर्दै पदमुक्त गरिएपछि उत्पन्न विवादले असन्तोष थप चुलिएको बताइएको छ। सो घटनालाई लिएर शेखर–गगन समूहको आक्रोश बढ्दै गएको छ, जसको परिणामस्वरूप सामूहिक राजीनामा गरिएको नेतृहरूको भनाइ छ।

यस घटनाले महिला संघको आन्तरिक विवादलाई थप सतहमा ल्याएको छ भने पार्टी नेतृत्वले कसरी यो विषय समाधान गर्छ भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार