• २०८२ कार्तिक ९ गते शनिवार
  • Preeti To Unicode

मकवानपुरमा इभी गाडी दुर्घटना: दुईको मृत्यु, १४ घाइते


मकवानपुर – मकवानपुरगढी गाउँपालिका–२, धरमपानीस्थित कान्तिलोकपथमा आज बिहान एक इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको इभी गाडी मोडबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

दुर्घटनामा सर्लाही बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलमदेवी राउतको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

अन्य १४ जना यात्रु घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनामा गम्भीर घाइते चालक कमलबहादुर दर्लामी सर्लाही बागमती गाउँपालिका–५ निवासी हुन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार