काठमाडौं– विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज आइतबार माइतीघर–बानेश्वर सडकखण्डमा आयोजना गरेको प्रदर्शन छोटो समयमा नै समापन गरेका छन्।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अन्तर्गतका शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन सुरु गरेका थिए। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दिउँसोको विरोध कार्यक्रमलाई मध्यनजर गर्दै उनीहरूले १२ बजेसम्ममै प्रदर्शन अन्त्य गरेका हुन्।
शिक्षकहरू पछिल्लो १९ दिनदेखि विद्यालय शिक्षा ऐनको तत्काल प्रकाशनको माग गर्दै निरन्तर आन्दोलनमा रहेका छन्। आन्दोलनलाई थप व्यवस्थित बनाउन र सुरक्षालाई ध्यानमा राख्दै सहभागी शिक्षकहरूका लागि युनिफर्म र परिचयपत्र (आईडी कार्ड) अनिवार्य गरिएको थियो।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शंकर अधिकारीका अनुसार आन्दोलनको अर्को चरण भोलिदेखि प्रत्येक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।