• २०८३ असार १९ गते शुक्रवार
  • Preeti To Unicode

शिक्षक आन्दोलन निष्कर्षतर्फ, सरकार–शिक्षक वार्ता सकारात्मक चरणमा


काठमाडौं – विद्यालय शिक्षा ऐनसम्बन्धी जारी शिक्षक आन्दोलन समाधानको चरणमा पुगेको छ। सोमबार राति सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको वार्ता सकारात्मक बनेको छ र दुबै पक्ष सहमतिका नजिक पुगेका संकेत देखिएका छन्। आन्दोलन अहिले निष्कर्षतर्फ उन्मुख देखिन्छ।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदे प्रस्तावलाई वार्ताको आधार बनाइ सहमति खोज्ने प्रयास भइरहेको छ। सो प्रस्तावमा समेटिएका विषयवस्तुहरूलाई केन्द्रमा राख्दै दुबै पक्षबीच समझदारी बन्ने वातावरण निर्माण भएको छ।

आज पुनः सरकार र शिक्षक महासंघबीच औपचारिक वार्ता तय भएको छ। वार्ताअघि शिक्षक महासंघ आन्तरिक छलफलमा व्यस्त छ। सरकारी स्रोतका अनुसार आजकै दिन मन्त्रिपरिषद बैठकबाट माग सम्बोधन सम्बन्धी निर्णय आउने सम्भावना रहेको छ।

शिक्षकहरूको मुख्य माग भनेको विद्यालय शिक्षा ऐन तत्काल ल्याइनुपर्ने हो। यही मागलाई केन्द्रमा राख्दै आन्दोलनरत पक्ष अडिग रहेको छ।

सोमबार सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू र शिक्षक नेताहरूबीच कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा विशेष छलफल भएको थियो। सो छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई अवस्था र सम्भावित सहमतिबारे जानकारी गराइएको थियो।

सरकार र आन्दोलनरत पक्ष दुवै आजको वार्ताबाट समाधान निस्कने विश्वासमा छन्। आन्दोलनको चाप र विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै समाधानतर्फ भएको सकारात्मक पहल शिक्षाप्रेमीहरूका लागि आशाको संकेत बनेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार