काठमाडौँ — सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पूरक जाहेरी दर्ता भएपछि सो प्रकरणका केही उजुरीकर्ताहरू आफैं सार्वजनिक रूपमा प्रस्तुत हुँदै प्रहरीमाथि गुनासो गरेका छन्। उनीहरूले आफूले रविविरुद्ध कुनै उजुरी नदिएको प्रस्ट्याउँदै प्रहरी प्रशासनले आफ्नो नाम दुरुपयोग गरेको आरोप लगाएका छन्।
सुप्रिम सहकारीमा ठगिएको भन्दै हालै दर्ता गराइएको पूरक जाहेरीमा सूचीकृत पूजाञ्यौपानेले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै आफूले रविविरुद्ध उजुरी नदिएको बताएकी छन्। उनले उल्लेख गरेकी छन्, “म केवल मेरो बचत फिर्ता माग्न गएकी हुँ, रविविरुद्ध उजुरी दिने मेरो उद्देश्य थिएन।”
त्यस्तै, नारायण पहराई र गीता आचार्यले पनि प्रहरीद्वारा जबर्जस्ती आफूहरूलाई उजुरीकर्ताका रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्। उनीहरू भन्छन्, “हामीले रवि लामिछानेविरुद्ध कुनै उजुरी दिएका थिएनौं, तर प्रहरीको बयानमा हामीलाई अनावश्यक रूपमा समावेश गरिएको छ।”
उक्त घटनापछि रवि लामिछानेका समर्थक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै आएका छन्। लामिछाने हाल रुपन्देही कारागारमा उच्च अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीसमेत थुनामा छन् भने जीबी राईलगायत अन्य केही प्रतिवादी अझै फरार छन्।
प्रहरीले रविविरुद्ध दर्ता गरेको पूरक जाहेरीमा केही व्यक्तिहरूको नाम समावेश गरेपछि अहिले ती व्यक्तिहरू नै असन्तुष्ट देखिँदै आएका छन्। सामाजिक सञ्जालमा व्यापक रूपमा “हामीले बचत फिर्ता मागेका हौं, रविविरुद्ध उजुरी दिएका होइनौं” भन्ने भनाइहरू देखिन थालेका छन्।
घटनाका बेला इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी विजयराज पण्डित थिए। हाल उनको सरुवा भइसकेको छ।