• २०८२ कार्तिक ५ गते मङ्गलवार
  • Preeti To Unicode

त्रिभुवन विमानस्थल मानव तस्करी प्रकरणमा अख्तियारको अनुसन्धान तीव्र


काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तीव्र बनाएको छ। आयोगले सरकारी उच्च पदस्थ कर्मचारीदेखि निजी क्षेत्रका व्यक्तिहरूसम्मलाई अनुसन्धानको दायरामा ल्याएको छ।

बुधबार आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। बिहीबार पुनः उनको बयान लिने प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक छानबिनपछि अनुसन्धान अधिकृत तोकी अनुसन्धानलाई औपचारिक रूपमा अगाडि बढाइएको आयोगले जनाएको छ।

सहसचिव भट्टराईसँगै अन्य तीन जना निजी क्षेत्रका व्यक्तिहरू पनि पक्राउ परेका छन्। यद्यपि उनीहरूको परिचय हाललाई गोप्य राखिएको छ।

अख्तियारले विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीहरूको मिलेमतोमा मानव तस्करी भइरहेको सूचना पाएपछि अनुसन्धान सुरु गरेको हो। प्रारम्भिक अनुसन्धानमा, अध्यागमनका केही कर्मचारीहरूले सामान्य यात्रुहरूलाई “कागजात अपूर्ण” भन्दै फर्काउने तर एजेन्ट वा म्यानपावर कम्पनीसँग सेटिङ मिलाएका यात्रुहरूलाई सजिलै मार्ग खुलाइदिने गरेको खुलेको छ।

त्यसैगरी, ती यात्रुहरूलाई विदेश पठाउने क्रममा एजेन्टहरूले उनीहरूबाट आर्थिक लाभ उठाएको आरोप पनि लागेको छ।

अख्तियारका प्रवक्ता भानु पौडेलका अनुसार, “रंगेहात घुस नपरेका र प्रमाण नष्ट गर्ने सम्भावना नरहेका व्यक्तिहरूलाई थुनामा नराख्ने हाम्रो नीति हो।” उनका अनुसार अनुसन्धानको क्रममा आवश्यक कागजात तथा उपकरणलगायतका प्रमाणहरू संकलन भइसकेका छन्।

अख्तियारले हाल अनुसन्धान द्रुत गतिमा अघि बढाइरहेको र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार