काठमाडौं — काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट निषेधित लागुऔषधसहित चार जना युवा पक्राउ परेका छन्। उनीहरूलाई लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी वृत्त कालीमाटीको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका–२ का २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का विजय आले मगर रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले १,०६७ थान निषेधित लागुऔषध क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ नगद र ६ थान मोबाइल फोन बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ। काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध कारोबार र प्रयोगमा संलग्न व्यक्तिहरूमाथि कडाइका साथ निगरानी बढाएको जनाएको छ।