गणतन्त्र दिवसमा राजधानीमा पक्ष–विपक्ष दुबैको प्रदर्शन, सुरक्षा व्यवस्था कडा


काठमाडौँ – गणतन्त्र दिवसको अवसरमा आज राजधानी काठमाडौँमा सत्ता पक्ष र विपक्षी धारका समूहहरूले आ–आफ्ना धारणासहित पृथक प्रदर्शन गरेका छन्। एकातर्फ नेकपा एमालेले गणतन्त्रको उत्सवस्वरूप कार्यक्रम आयोजना गर्दा, अर्कोतर्फ राजतन्त्र पक्षधर समूहले विरोध प्रदर्शन गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ।

राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ नामक समूहले शान्तिबाटिकामा प्रदर्शन गर्दै गणतन्त्र व्यवस्थाविरुद्ध आवाज उठाएको हो। उनीहरूले वर्तमान प्रणालीले देशलाई संकटतर्फ धकेलेको आरोप लगाउँदै तत्काल राजतन्त्र पुनःस्थापनाको माग गरेका छन्।

उता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गर्‍यो। प्रशासनले दिउँसो २ बजेसम्म कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो। कार्यक्रममा सहभागीहरू राष्ट्रिय झन्डासहित उत्साहपूर्वक उपस्थित थिए।

दुबै प्रदर्शनका कारण राजधानीका मुख्य क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। विशेषगरी भृकुटीमण्डपरत्नपार्क वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। ड्रोनमार्फत निगरानी समेत गरिएको जनाइएको छ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै गणतन्त्र नेपाली जनताको संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्। उनले गणतन्त्रले देशलाई स्थायित्व, विकास र समावेशी लोकतन्त्रको दिशामा अघि बढाएको बताए।

गणतन्त्र दिवस हरेक वर्ष जेठ १५ गते मनाइन्छ। वि.सं. २०६५ सालको यही मितिमा संविधानसभाको पहिलो बैठकबाट २४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरिएको थियो। यस दिनलाई नागरिक सर्वोच्चताको प्रतीकका रूपमा मनाइन्छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार