काठमाडौँ । धादिङ जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूबाट कानुन विपरीत दिइने निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने घोषणा गरेका छन्। केही दिनअघि धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले दिएको निर्देशनप्रति लक्षित गर्दै धादिङका पालिकाहरूले विरोध जनाएका हुन्।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ र यसको विरोधमा उभिने निर्णय गरेको हो।
संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहका जनप्रतिनिधिहरूले नवनिर्वाचित सांसदहरूबाट संविधान र कानुनको भावना विपरीत आउने विभिन्न निर्देशनप्रति गम्भीर आपत्ति जनाएका छन्। सांसदहरूको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय धादिङमार्फत पत्र आएको भन्दै स्थानीय सरकारको संवैधानिक अधिकारमाथि अङ्कुश लगाउने प्रयास भएको उनीहरूको बुझाइ छ।
विज्ञप्तिमा भनिएको छ, “नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू तथा प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यप्रति यो बैठक कडा प्रतिवाद गर्दछ।”
संविधानको अनुसूची ८ ले स्थानीय सरकारलाई दिएको अनन्य अधिकार प्रयोगमा बाधा पुर्याउने गरी कर्मचारीतन्त्र वा माथिल्लो तहका जनप्रतिनिधिबाट आउने कुनै पनि आदेश स्वीकार्य नहुने उनीहरूको अडान छ।