सप्तरी, ७ चैत — राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाढास्थित बाबा धर्मराज इँटा उद्योगबाट २३ जना भारतीय कामदार उद्धार गरेको छ। आसामका ती कामदारहरू उद्योग सञ्चालक राजु साहले जबरजस्ती काम लगाएको र ज्याला नदिएको भन्ने उजुरीका आधारमा आयोगको मधेश प्रदेश कार्यालय जनकपुरले स्थलगत निरीक्षण गरी उद्धार गरेको हो। उद्धार गरिएका कामदारमध्ये १२ जना महिला, सात पुरुष र चार जना बालबालिका रहेका छन्। उनीहरू ठेकेदारमार्फत आएका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्यमा उद्धार गरिएका कामदारलाई जनकपुर ल्याई प्रक्रिया पुर्याएर परिवारजनको जिम्मा लगाइने र उद्योग सञ्चालकविरुद्ध कानुन बमोजिम कारबाही अगाडि बढाइने आयोगले जानकारी दिएको छ।