काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक भेटघाट र संवाद गरेका छन्।
भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत तथा नियोग प्रमुखहरू सहभागी थिए। सहभागीहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे र नेपाली जनताको हितमा सरकारको काममा सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीति दोहोर्याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध अझ प्रगाढ बनाउनु आवश्यक रहेको बताए। उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै विदेशमा रहेका नेपाली नागरिक र श्रमिकहरूको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको पनि जनाए।साथै, उनले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरे।
यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई तथा अन्य सरकारी अधिकारीहरू पनि उपस्थित थिए।