• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

तीनसिमाना फालोट: हिउँले ढाकिएको पाँचथरको अनुपम सौन्दर्य

तीनसिमाना फालोट: हिउँले ढाकिएको पाँचथरको अनुपम सौन्दर्य

पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने तीनसिमाना फालोट क्षेत्र समुद्री सतहबाट ३,५८६ मिटर उचाइमा अवस्थित एक अद्भुत प्राकृतिक गन्तव्य हो, जहाँ नेपाल, भारत र सिक्किमको सिमाना जोडिन्छ। हिउँले छपक्क ढाकिएको यो क्षेत्र विशेषगरी जाडो र चैत अन्त्यतिर अत्यन्तै मनमोहक देखिन्छ, जहाँ गुराँसका पोथ्रा हिउँले ढाकिएका हुन्छन् र चौँरीहरू सेताम्मे मैदानमा चरिरहेका दृश्यले पर्यटकलाई आकर्षित गर्छन्।

यहाँ वर्षभरि फरक–फरक मौसममा फरक सौन्दर्य देख्न पाइन्छ—बर्खामा हरियाली, वसन्तमा फुलेका गुराँस र हिउँदमा हिमालसँगै हिउँको दृश्य। यस क्षेत्रबाट सगरमाथा, कञ्चनजङ्घाकुम्भकर्ण हिमाल लगायतका हिमश्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। जैविक विविधताले पनि धनी यस क्षेत्रमा चौँरी पालन मुख्य आकर्षण हो भने तलतिर रेड पाण्डा समेत पाइन्छ।

पर्यटकहरूले यहाँ चौँरीको दूधबाट बनेका खिर, छुर्पी र चिज जस्ता स्थानीय परिकारको स्वाद लिन सक्छन्। यहाँ होमस्टे सुविधा उपलब्ध भएकाले स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्ने अवसर पनि मिल्छ। सन्दकपुर हुँदै भारततर्फबाट वा पाँचथरको फिदिम बाट मेमेङ हुँदै गाडी तथा बाइकमा सजिलै पुग्न सकिने यो क्षेत्र चारराते–फालोट–चिवाभञ्ज्याङ–तिम्बुङ पोखरी रुटका कारण पनि लोकप्रिय बन्दै गएको छ। यद्यपि, सन्दकपुरबाट हरेक वर्ष भारतीय पर्यटक आउने गरे पनि नेपाली पर्यटकको उपस्थिति भने अझै न्यून देखिन्छ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार