• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

उपचारपछि निको भए पनि पैसा नहुँदा अस्पतालमै रोकिए १७ वर्षीय शिव सदा, आमा सम्पर्कविहीन

उपचारपछि निको भए पनि पैसा नहुँदा अस्पतालमै रोकिए १७ वर्षीय शिव सदा, आमा सम्पर्कविहीन

उदयपुर — सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका १७ वर्षीय शिव सदा विगत एक सातादेखि विराटनगरस्थित निजी अस्पतालको बेडमै रोकिएका छन्। विष सेवनपछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनी उपचारपछि सामान्य अवस्थामा फर्किए पनि अस्पतालको १ लाख ३० हजार रुपैयाँ तिर्न नसक्दा डिस्चार्ज हुन पाएका छैनन्।

२७ चैत साँझ विष सेवन गरेका शिवलाई उनकी आमा मघिया सदा र श्रीमती कृतिकाले अटोमार्फत कटारी अस्पताल पुर्‍याएका थिए। अवस्था जटिल भएपछि उनलाई कोशी अस्पताल रिफर गरियो। तर त्यहाँ अक्सिजन अभाव भएको भन्दै अन्यत्र लैजान सुझाव दिइएपछि एक एम्बुलेन्स चालकको सल्लाहमा उनलाई विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टर लगियो, जहाँ उपचार सुरु भएको दुई दिनमै उनको ज्यान जोगियो।

उपचारपछि परिवारले राहत महसुस गरे पनि अस्पतालले ठूलो रकम तिर्नुपर्ने बताएपछि समस्या झन् चुलियो। गरिबीले थिचिएको परिवारका लागि उक्त रकम जुटाउनु असम्भवजस्तै बनेको छ। कोशी अस्पतालमै औषधि किन्न आमा मघियाले आफ्नो मोबाइल १५ सय रुपैयाँमा बन्दकी राखेकी थिइन्। त्यसले पनि नपुगेपछि उनी सोमबार गाउँमा पैसा खोज्न भन्दै विराटनगरबाट पैदलै हिँडेकी थिइन्, तर तीन दिन बितिसक्दा पनि उनी सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

विराटनगरदेखि करिब ३०० किलोमिटर टाढा घरतर्फ पैदल हिँडेकी आमाको अवस्थाबारे कुनै जानकारी नआउँदा परिवार थप चिन्तित बनेको छ। यता अस्पतालमा रहेका शिवका आफन्तले थप मानसिक तनाव झेलिरहेका छन्। आफूलाई अस्पतालका कर्मचारी बताउने व्यक्तिहरूले ‘पैसा हाल्नुस्, नभए बिरामीलाई जे पनि हुन सक्छ’ भन्दै फोनमार्फत धम्की दिने गरेको शिवकी सासु भीम सरिया सदाले गुनासो गरेकी छन्।

गाउँबाट ऋण काढेर हालसम्म २० हजार रुपैयाँ पठाइसकिएको भए पनि बाँकी रकम जुटाउने कुनै उपाय नरहेको परिवार बताउँछ। ‘हामी जस्ता गरिब र दलित समुदायका मानिसले के गर्ने? उपचार नगरे मर्ने, उपचार गरेपछि पैसा तिर्न नसके अस्पतालमै थुनिने?’ भन्दै उनीहरूले पीडा पोखेका छन्। सरकारी अस्पतालले समयमै र पर्याप्त उपचार उपलब्ध गराएको भए निजी अस्पताल धाउनु पर्ने अवस्था नआउने उनीहरूको भनाइ छ।

यस विषयमा अस्पतालसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। शिवको परिवारले भोगिरहेको यो घटनाले नेपालको स्वास्थ्य प्रणालीमा रहेको असमानता, सेवामा पहुँचको अभाव र कमजोर नियमनको अवस्था पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार