काठमाडौं । अपारदर्शी सम्पत्ति, विवरणमा उल्लेख नगरिएका सेयर लगानी तथा विवादित सम्बन्ध सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । मंगलबार रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह सँग भएको छलफलमा गुरुङले छानबिन समिति बनाएर आफ्नो सम्पत्तिको स्रोत खुलाउनुपर्ने अडान राखे पनि सरकारको ‘शून्य सहनशीलता’ नीतिअनुसार तत्काल मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । गुरुङले सम्पत्ति विवरणमा माइक्रो इन्स्योरेन्स कम्पनीका सेयर, जग्गा र सुनको स्रोत स्पष्ट नदेखाएपछि उनीमाथि नैतिक तथा कानुनी प्रश्न उठेको थियो । उनले पछि ऋणमार्फत लगानी गरेको दाबी गरे पनि विवरणमा त्यसको स्पष्ट उल्लेख नभएको पाइएको छ । पार्टीभित्र उनलाई केही समय दिनुपर्ने मत रहे पनि सुशासनको मुद्दामा सरकार कडा देखिँदा अन्ततः उनले राजीनामा दिएका हुन्, भने आवश्यक परे थप अनुसन्धानसमेत हुन सक्ने संकेत गरिएको छ ।