दुर्गमका दु:ख : बोराका झोलामा किताब-कापी

दुर्गमका दु:ख : बोराका झोलामा किताब-कापी

हुम्ला । बिहान ११ बजिसकेको थियो। ताजाँकोट गाउँपालिका–३, मासपुरकी १० वर्षीया सरिता रोकाया बल्ल विद्यालयतर्फ लाग्दै थिइन्। गाउँकै बानादेव आधारभूत विद्यालयमा अध्ययनरत सरिताको हातमा कापी–किताब थिए, तर झोला थिएन। उनले आमाको कुर्ता लगाएकी थिइन् र गलामा पहेँलो पोते भिरेकी थिइन्।

सरिताजस्तै उनका धेरै साथीहरू पनि झोला अभावका कारण कापी–किताब कपडामा बेरेर विद्यालय जाने गरेका छन्। ७ वर्षीय लोकराज बुढा भने चामलको बोराबाट बनाइएको झोलामा आफ्ना कापी–किताब बोकेर विद्यालय पुग्ने गर्छन्।

कक्षा ३ मा अध्ययनरत सरिता झोला नभएकै कारण कापी–किताब हातमै च्यापेर विद्यालय जाने गरेको बताउँछिन्। यस्तै, कक्षा १ मा पढ्ने लोकराजले बुबाले बनाइदिएको बोराको झोलामै आफ्ना शैक्षिक सामग्री राख्ने गरेको बताए।लोकराजका बुबा रूपलाल बुढाका अनुसार आर्थिक अवस्था कमजोर भएकाले नयाँ झोला किन्ने सम्भावना छैन। “घरमै भएको चामलको बोरा सिलाएर झोला बनाइदिएको छु,” उनले भने, “यही नै हाम्रो बाध्यता हो।”

मासपुर गाउँका अधिकांश परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले बालबालिकाहरू आधारभूत शैक्षिक सामग्रीको अभावमा अध्ययन गर्न बाध्य छन्। धेरैजसो विद्यार्थी कापी–किताब हातमै बोकेर वा बोराको झोलामा हालेर विद्यालय पुग्ने गर्छन्।बानादेव आधारभूत विद्यालयका प्रधानाध्यापक खडक सिंहका अनुसार विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी सामग्री अभावमै छन्। “धेरै बालबालिका झोला बिना नै आउँछन्। कतिले त कापी–किताब हातमै बोकेर आउँछन्,” उनले बताए।

स्थानीयका अनुसार दुर्गम क्षेत्रमा सडक, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा पहुँच नहुनु पनि यस्तो समस्याको मुख्य कारण हो। उनीहरूले यस्ता विषयमा राज्यको ध्यान जानुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार