काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति Sher Bahadur Deuba र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री Arzu Rana Deuba विरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । इन्टरपोलले थप कागजात मागेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) नेपालले आवश्यक विवरण पठाइसकेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरूलाई नेपाल ल्याउने उद्देश्यसहित एनसीबीले इन्टरपोलमा रेड नोटिसका लागि औपचारिक पत्राचार गरेको बताइएको छ । यद्यपि, इन्टरपोलले आवश्यक कागजात नपुगेको भन्दै हालसम्म रेड नोटिस जारी नगरेको स्रोतको भनाइ छ ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए । उनीहरू १४ फागुनमा उपचारका लागि सिंगापुर गएको र त्यहाँबाट ७ चैतमा हङकङ पुगेको बताइएको छ । त्यसयता उनीहरू नेपाल फर्केका छैनन् र हाल पनि हङकङमै रहेको स्रोतले जनाएको छ ।
रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था रहेको छ ।