सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्र नं. ७ गण मुख्यालय सिरहाबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा स.१ ख.५३५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले ट्रकसहित तस्करीमा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ का अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादवलाई पक्राउ गरेको जनाएको छ । ट्रकमा विभिन्न प्रकारका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको बताइएको छ । नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।