• २०८३ जेष्ठ २१ गते बिहिवार
  • Preeti To Unicode

६ दिनपछि जीवित फेला परे सगरमाथा क्षेत्रमा बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पा

६ दिनपछि जीवित फेला परे सगरमाथा क्षेत्रमा बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पा

काठमाडौं, २१ जेठ । सगरमाथा क्षेत्रमा बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवित फेला परेका छन्।

खोजी टोलीले बुधबार बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा भेट्टाएको हो। खोजीमा संलग्न एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार दावा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा फेला परेका थिए।

दावा हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध थिए। सार्वजनिक भएका तस्बिरहरूमा उनका हातका औँलामा चोट लागेको देखिएको छ। उद्धारपछि उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँदै छ।

दावा जेठ १५ गते सगरमाथा क्षेत्रको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि एटके एक्सपिडिसनले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको उद्धार टोली परिचालन गरेको थियो।

खोजी टोलीले उनलाई फेला पारेपछि आधार शिविर हुँदै थप उपचारका लागि काठमाडौं ल्याउने प्रक्रिया अघि बढाइएको छ। ६ दिनसम्म उच्च हिमाली क्षेत्रमा बेपत्ता रहेका दावा जीवित फेला पर्नुलाई पर्वतारोहण क्षेत्रमा दुर्लभ र सुखद घटनाका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार