धनकुटाका ६ स्थानीय तहले ल्याए बजेट, छथर जोरपाटीमा निर्धारित समयमा प्रस्तुत हुन सकेन

धनकुटाका ६ स्थानीय तहले ल्याए बजेट, छथर जोरपाटीमा निर्धारित समयमा प्रस्तुत हुन सकेन

धनकुटा । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था रहे पनि धनकुटाका सात स्थानीय तहमध्ये छ स्थानीय तहले मात्रै बजेट सार्वजनिक गरेका छन्। गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा काम विशेषले काठमाडौं जानुपरेकाले छथर जोरपाटी गाउँपालिकाले भने निर्धारित समयमा बजेट प्रस्तुत गर्न नसकेको जनाएको छ। धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाले असार १० गतेअघि नै बजेट ल्याएका थिए भने महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका, चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले असार १० गते बजेट प्रस्तुत गरेका हुन्। सार्वजनिक बजेटअनुसार धनकुटा नगरपालिकाले सबैभन्दा बढी ७६ करोड ८६ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ भने महालक्ष्मी नगरपालिकाले ६५ करोड २३ लाख ९३ हजार रुपैयाँ, पाख्रिबास नगरपालिकाले ६१ करोड ३७ लाख ७६ हजार ९९७ रुपैयाँ, साँगुरीगढी गाउँपालिकाले ५९ करोड १९ लाख ४६ हजार रुपैयाँ, चौविसे गाउँपालिकाले ५५ करोड ८८ लाख ९९ हजार ४४५ रुपैयाँ र सहिदभूमि गाउँपालिकाले ४७ करोड ९५ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन् भने पाख्रिबास नगरपालिकाले अपाङ्गता रोकथाम, विपन्न परिवारका लागि उपचार तथा मलामी खर्च सहायता कार्यक्रमलाई समेत प्राथमिकतामा समेटेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार