काठमाडौं । पैदलयात्रीका लागि सबैभन्दा सुरक्षित मानिने जेब्रा क्रसिङमै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। पछिल्लो पाँच वर्षमा जेब्रा क्रसिङसहित सडक पार गर्ने क्रममा २ हजार ६८३ पैदलयात्रीको मृत्यु भएको छ भने गत साउनदेखि जेठसम्म मात्रै ५२९ जनाले ज्यान गुमाएका छन्। १० माघ २०८२ मा ललितपुरको बालकुमारीस्थित जेब्रा क्रसबाट सडक पार गर्दै गरेकी भोजपुरकी ५५ वर्षीया देवी खत्रीलाई भ्यानले ठक्कर दिँदा उपचारकै क्रममा मृत्यु भएको थियो। पूर्वगृहसचिव पद्मराज सुवेदी, परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बा, रामकाजी फौजु, रविना चौधरी र तुलसा फुयाललगायतले पनि जेब्रा क्रसिङमै ज्यान गुमाएका उदाहरण छन्। सरकारले जेब्रा क्रसिङबाहेक अन्य स्थानबाट सडक पार गर्नेलाई ५०० रुपैयाँ जरिबाना गर्ने प्रस्ताव अघि सारेको भए पनि पर्याप्त जेब्रा क्रस, ट्राफिक बत्ती र फुटपाथको व्यवस्था नगरी पैदलयात्रीलाई मात्र दण्डित गर्न खोजिएको भन्दै आलोचना भइरहेको छ। विज्ञहरूका अनुसार चालकको लापरबाही, तीव्र गति, चेतनाको अभाव, गलत स्थानमा निर्माण गरिएका तथा रङ खुइलिएका जेब्रा क्रसिङ र कमजोर सडक पूर्वाधार दुर्घटनाका प्रमुख कारण हुन्। उनीहरूले चालकले जेब्रा क्रसिङमा पैदलयात्रीलाई अनिवार्य प्राथमिकता दिनुपर्ने, पैदलयात्रीले पनि ट्राफिक नियम पालना गर्नुपर्ने, उपयुक्त स्थानमा स्पष्ट देखिने जेब्रा क्रस, ट्राफिक बत्ती र गति अवरोधकको व्यवस्था गर्नुपर्ने तथा नियम उल्लंघन गर्ने चालकलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।