दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको बस बिहीबार बिहान करिब ११:३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कति जना सवार थिए भन्ने विवरण अझै खुलेको छैन। दुर्घटनास्थलमा हालसम्म एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा शव भेटिएको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ।