मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानको पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा सुरक्षित रूपमा प्रशोधन गर्न कठिन भएको हो। उनले पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी वितरण गरिने जानकारी दिए। निरन्तर वर्षा जारी रहेमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति पुनः सुचारु हुन केही समय लाग्न सक्ने केयुकेएलले जनाएको छ।