वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार रातिदेखि सडकका विभिन्न स्थानमा ढुंगा खस्नु र एक ठाउँमा रुख ढल्दा केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो। हाल सडक सफा गरी सञ्चालनमा ल्याइए पनि वर्षाका कारण बेला–बेलामा ढुंगा, माटो र पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। आज बिहान तुइन खोला, सिमलताल र फिस्लिङ क्षेत्रमा पनि ढुंगा खस्नुका साथै रुख ढल्दा आवागमन प्रभावित भएको थियो। प्रभावित स्थानमा मेसिन प्रयोग गरी सडक सफा गर्ने काम भइरहेको छ र जहाँ पहिरो खस्छ, त्यहाँ तत्काल सफाइ गरेर सवारी सञ्चालन गरिँदै आएको छ। वर्षा निरन्तर भइरहेकाले सडक यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै प्रहरीले चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।