बाढी–पहिरोले देशभरका सडक प्रभावित, ३ सडक पूर्ण रूपमा अवरुद्ध

बाढी–पहिरोले देशभरका सडक प्रभावित, ३ सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार हाल ३ वटा सडक पूर्ण रूपमा र ६ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका छन्। पहिरोका कारण अवरुद्ध भएका २४ वटा सडकखण्ड भने सामान्य सुधारपछि सञ्चालनमा आएका छन्।

नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो तथा सडक भासिएका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित भएको हो। वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

बीपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली सडकखण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग विभिन्न तीन स्थानमा पहिरो, लेदो र सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार