गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति आफूले जोकका रूपमा दिएको बताएका छन्। बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गुरुङले मतदातासँग जोक गरेको बताएका हुन्। उनले सञ्चारकर्मीप्रति झोक्किँदै ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त?’ भन्दै प्रतिप्रश्नसमेत गरे। केही दिनअघि निर्वाचन क्षेत्रका जनताको समस्या बुझ्ने क्रममा मतदाताहरूले निर्वाचनका बेला आफूले गरेको स्वास्थ्य सामग्री उपलब्ध गराउने वाचा पूरा नभएको भन्दै गुनासो गरेका थिए। सोही क्रममा गुरुङले ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति दिएका थिए।