काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङले काभ्रेमा एक प्रहरी र युवतीको गोप्य भिडियो अनुमतिबिना खिचेर सार्वजनिक गरिएको घटनाप्रति संसद्मा आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सम्बन्धित व्यक्तिको अनुमतिबिना गोप्य रूपमा भिडियो खिच्नु र सार्वजनिक गर्नु व्यक्तिगत गोपनीयताको हकविपरीत तथा कानुनी रूपमा दण्डनीय अपराध भएको बताइन्।
सांसद तामाङले नेपालको संविधान तथा प्रचलित कानुनले व्यक्तिको गोपनीयताको संरक्षण गरेको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिन्। प्रहरीले भिडियो खिचेर सार्वजनिक गर्ने व्यक्तिको खोजी भइरहेको बताए पनि अनुसन्धान कहाँ पुगेको हो भन्नेबारे स्पष्ट परिणाम नआएको भन्दै उनले प्रश्न उठाइन्। साथै, गोप्य भिडियो सार्वजनिक हुँदा सम्बन्धित व्यक्तिको मानसिक र सामाजिक जीवनमा परेको गम्भीर असरको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्दै उनले पीडितको मानमर्दन हुने यस्ता गतिविधि रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।